दार्चुला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले दशैँ, तिहार र छठ पर्वको अवसरमा जनतालाई खाद्यान्नमा विशेष छुट दिने जनाएको छ । कार्यालय एक सूचना जारी गर्दै “पर्वोत्सव सुपथ छुट मूल्य पसल” सञ्चालन गरी यहाँका जनतालाई खाद्यान्न (चामल) मा विशेष छुट दिने जनाएको हो ।
कार्यालयले यही असोज २१ गते देखी मंसिर ३ गते सम्म “पर्वोत्सव सुपथ छुट मूल्य पसल” सञ्चालन गर्ने भएको छ । चाडबाडका बेला सबैका लागि खाद्यान्नमा छुट गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका निमित्त शाखा प्रमुख जयकिशुन प्रसाद चौधरीले जानकारी दिए । कार्यालयले असोज २१ गते देखी अरुवा मोटा चामल, अरुवा मकवानपुर चामल र स्टिम जिरा मसिनो चामलमा साबिकको भन्दा केही छुट दिने जनाएको छ ।
उपभोक्ताका माग र समस्यालाई मध्यनजर गर्दै कार्यालयले सबै चामलको मूल्यमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिएर विक्री वितरण गर्ने जनाएको छ । हाल प्रतिकिलोग्राम ५५ रुपैयाँमा विक्री वितरण भइरहेको अरुवा मोटा चामलमा ७ रुपैयाँ कमारी छुटपछि ४८ रुपैयाँमा विक्री वितरण गरिने बताइएको छ ।
हाल प्रतिकिलोग्राम ५६ रुपैयाँमा विक्री वितरण भइरहेको अरुवा मकवानपुर चामलको मूल्यमा ७ रुपैयाँ कमारी ४९ तथा हाल प्रतिकिलोग्राम ९३ रुपैयाँमा विक्री वितरण भइरहेको स्टिम जिरा मसिनो चामलको मूल्यमा ७ रुपैयाँ कमारी प्रतिकिलोग्राम ८६ रुपैयाँ कायम गरिने बताइएको छ ।
कार्यालयले हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वहरूमा खाद्यान्नमा छुट दिने व्यवस्था गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलामा हाल २१८ क्विन्टल मोटा चामल, १७६ दशमलव २५ क्विन्टल स्टिम जिरा मसिना चामल र ३६ दशमलव ८१ क्विन्टल मकवानपुर चामल गरी ४३१ दशमलव ०६ क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख चौधरीले जानकारी दिए ।













