धनगढी- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली गत निर्वाचनमा एमालेलाई घेराबन्दी गरिएको तथा नेकपाकालमा आफूलाई साधारण सदस्यबाट पनि निकालिएको चर्चा गर्दै थिए।
‘त्यस्तो हमलाका बीच पार्टी सिध्याउँछौं भनेर लागेका बेलामा, पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट पनि निकाल्यौं भन्ने कस्तो…, उनी बोल्दै थिए। त्यति नै बेला उनको सम्बोधन सुनिरहेका कार्यकर्ता पंक्तिमा होहल्ला सुरु भयो। एक व्यक्तिले बोले-‘भीम रावल खै?’
कार्यक्रमको प्रत्यक्ष प्रशारणमा ती व्यक्तिभन्दा अघि बोलेका र पछि बोल्नेहरूले पनि भीम रावल खोजेको जस्तो सुनिन्थ्यो। तर आवाज प्रष्ट सुनिएन। ओलीले जवाफ फर्काए- ‘चुप लागेर बसौं त साथीहरू।’ त्यसपछि भने हल्ला शान्त भयो।
ओलीले आफूलाई अध्यक्षबाट निकालिएको प्रसंगको पुनः चर्चा गर्दै अगाडि बढे। सुदूरपश्चिम प्रदेश क्षेत्रमा नेकपा एमालेमा रावल प्रभावशाली नेता मानिन्छन्। तर प्रदेश अधिवेशनमा उनलाई बोलाइएको थिएन। एमालेको नेतृत्व तहले रावललाई नरुचाए पनि कार्यकर्ता भने उनको पक्षमा उभिने गरेका छन्।













