धनगढी- जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ग्लोबल डाइलग फोरममा कैलालीको जानकी गाउँपालिकाले पनि विपत् व्यवस्थापनको सिकाइबारे अनुभव आदानप्रदान गर्ने जनाएको छ ।
विपत् व्यवस्थापनमा प्रभावकारी काम गरेपछि जानकी गाउँपालिकालाई सो कार्यक्रममा बोलाइएको हो । सो कार्यक्रममा पालिका अध्यक्ष गणेश चौधरीले अनुभव सुनाउने बताइएको छ । उनी आइतबार नै जर्मनीतर्फ गएका छन् ।
जर्मनी सरकार परराष्ट्र कार्यालयको सहयोगमा विपत् व्यवस्थापनमा काम गर्ने मानवीय संस्थाको आयोजनामा अक्टुबर १० देखि तीन दिनसम्म उक्त कार्यक्रम हुँदैछ ।
अध्यक्ष चौधरीले गाउँपालिकाले गरेको विपत् व्यवस्थापनसम्बन्धी अनुभव सुनाउन आफू जर्मनी जान लागेको बताए । सो कार्यक्रममा विश्वका ४५ मुलुकका सरकार र संस्थाका प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।













