धनगढी – चाडपर्वका बेला अखाद्य बस्तुको बिक्रीवितरण रोक्नका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँका खाद्य उद्योगको अनुगमन थालेको छ ।
विभागीय मन्त्री, मन्त्रालयका कर्मचारी र सरोकारवाला निकायका प्रतिनिधिसहितको टोलीले बिहीबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रमा रहेका चारवटा खाद्य उद्योगको अनुगमन गरेको छ ।
धनगढीको राजश्री फुड इण्डस्ट्रीज प्रालि, ठाकुर खाद्य इण्डस्ट्रीज तथा गोदावरी फ्लोर मिल र गोदावरीको सुदूर फुड इण्डस्ट्रीजमा अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरीले ठाकुर खाद्य इण्डस्ट्रीजमा अन्य कम्पनीले उत्पादन गरेको चामल पनि भेटिएको जानकारी दिए ।
त्यहाँ केही चामल अखाद्यजस्तो देखिएको उल्लेख गर्दै उनले त्यसलाई तत्काल नचलाउन निर्देशन दिइएको बताए । ‘विभिन्न कम्पनीले उत्पादन गरेका विभिन्न ब्राण्डका चामल ठाकुर खाद्य इण्डस्ट्रीजमा भेटिएका छन्, त्यसरी राख्न पाउँछ कि पाउँदैन भोलि दर्ता प्रमाणपत्र ल्याउनु भनेका छौँ’ निर्देशक चौधरीले भने, ‘केही सामान शंकास्पद पनि देखियो, यसबारे भोलि छलफल गर्छौँ ।’
उत्पादित चामलको बोरामा पुरानो छाप नदेखिने गरी ठाकुर खाद्यले नयाँ छाप हानेको पनि देखिएको अनुगमन टोलीले जनाएको छ । अन्य उद्योगहरुमा भने त्यस्तो कैफियता फेला नपरेको निर्देशक चौधरीले जानकारी दिए । चाडपर्वको समयमा अखाद्य बस्तुको बिक्रीवितरण बढी हुने भएकाले बजारमा खाद्य स्वच्छता कायम गर्न मन्त्रालयले खाद्य उद्योगहरुको अनुगमन थालेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बताए ।
उनले खाद्य उद्योगहरुको अनुगमनलाई निरन्तरता दिइने बताए । अनुगमनले उद्योगीहरुका समस्या तथा गुनासा बुझ्न पनि प्रदेश सरकारलाई मद्दत पुग्ने मन्त्री धामीले बताए । उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने तर गलत गरेको भेटिए कारबाहीको दायरामा ल्याइने उनले बताए ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी उपमहानगरपालिकालगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । ‘चाडवाडमा अखाद्य बस्तुको बिक्रीवितरण अरुबेलाभन्दा बढी हुन्छ, खाद्य स्वच्छता कायम गर्न खाद्य उद्योगको अनुगमन थालिएको हो’ निर्देशक चौधरीले भने ।
















