बैतडी- दशैंतिहारको अवसर पारेर बैतडीमा दुईवटा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। कात्तिक २ गतेदेखि दोस्रो संस्करणको वासुलिङ्ग प्रिमियर लिग (बीपीएल) र कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग ९पिपिएल०को तेस्रो संस्करण हुने भएको हो। पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण मावि पाटनको खेलमैदानमा सञ्चालन हुनेछन्।
विजेता टोलीले १ लाख ११ हजार १११ र द्वितीय हुनेले टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। विगतका दुईवटै सिजन टेनिस बलले प्रतियोगिता गराइएकोमा यो वर्ष ड्युज बलले खेलाइने जनाएको छ।
यस्तै वासुलिङ्ग क्रिकेट क्लबको आयोजनामा हुने (बीपीएल) सिजन टुका खेलहरू सिद्धखाली खेलमैदान सतबाँझमा हुनेछन्। प्रथम हुने टिमलाई ३५ हजार र दोस्रो हुने टोलीले १८ हजार पुरस्कार पाउनेछ। दुईवटै प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि दर्ता खुला गरिएको छ। प्रतियोगिताहरूले बैतडीको क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
















