कैलाली- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक इतिहासको सर्वाधिक जटिल मोडमा रहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा बोल्दै उनले विश्वको भूराजनीति र बाछिटाहरूबाट नेपालमा प्रभाव परेको र देश जटिल मोडमा रहेको बताएका हुन् ।
‘इतिहासको सर्वाधिक जटिल मोडमा नेपाल पुगेको छ । अहिले कम्युनिष्टहरुको भविष्य छैन भन्ने चर्चा सुरु हुन थालेका छन्’, उनले भने, ‘नेपालको जिम्मा अरूले होइन, नेपालको जिम्मा माओवादी, कम्युनिष्टहरू र समाजवादी धारका पार्टीले लिनुपर्छ ।’
विप्लवले खुलेरै माओवादी केन्द्रको चर्चा र प्रशंसा गरेका थिए । ‘यो देशमा समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो’, उनले भने । नेपाली जनतालाई स्वतन्त्रता, समानता र स्वाधीनता चाहिएको भन्दै उनले दलाल र पूँजीपतिहरुले सत्ता कब्जा गरेको बताए ।
‘जसले क्रान्ति गर्यो, ती मान्छेहरू लज्जित भएका छन् । दलालहरू हावी भएका छन्’, उनले भने, ‘नेपालमा सैन्य अखडा बनाउने काम भइरहेको छ । भारतमा कहीं ठाउँ पूजा गर्न पनि नेपाल पाउनुपर्ने भएको छ ।’ समाजवादी मोर्चालाई अझै बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
















