धनगढी- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका प्रकाश सिजापति भारतको दुधियानामा विगत १३ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिजापति अहिले दशैँ र तिहार मनाउका लागि घर फकिएका छन् । घरपरिवारसँगै खुसीयालीका साथ दशैँ मनाउनुपर्छ भनेर एक महिनाको छुट्टीमा उनी घर आएका हुन् ।
‘घरतिर बस्यो भने बेरोजगारी भएरै बस्नुपर्ने हुन्छ । त्यही भएर दशैँ र तिहार मनाएर फेरी कर्मक्षेत्रमा फर्किनुपर्छ,’ उनले भने, ‘जुन सुक्कै परिस्थिति आए पनि कमाउनका लागि परदेशमै जानुपर्नेछ ।’ आफ्नो देशमा रोजगारी नहुँदा अर्काको देशमा गएर रोजगारी गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
उनी एउटा पात्र मात्रै हुन् उनी जस्ता हजारौँ नेपालीहरू स्वदेशमा रोजगारी नभएपछि विदेशीन बाध्य छन् । कैलाली चुरे गाउँपालिकाका करन साउद पनि रोजगारीका लागि भारतको पञ्चाव गएका थिए । उनी अहिले दशैँ मनाउनका लागि घर फर्किएका छन् । उनी पञ्चाव रोजगारीको शिलसिलामा गएको डेढ वर्ष भएको छ ।
‘सरकारले आफनै देशमा केही रोजगारीको व्यवस्था गरेको भए आफनै देशमा रोजगारी गर्न मन थियो,’ उनले भने ।
स्वदेशमा रोजगारी नहुँदा युवाहरू खाडी छिर्नुपरेको उनले बताए । स्वदेशमा बस्यो भने रोजगारी मिल्दैन त्यसैले दशैँ र तिहार मानेर फर्किने उनले बताए ।
साउँद जस्तै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का मनिराम चौधरी बर्खामा धान लगाएर रोजगारीका लागि भारतको सिमला स्याउ टिप्न गएका थिए । उनी दुई महिना जति सिमलामा स्याउ टिपने काम गरेर दशैँ मनाउनकै लागि घर फर्किएका छन् । ‘धान पाकिसक्यो अब काट्ने बेला भयो । खाली समयमा दुई÷चार सय भएपनि हुन्छ की भनेर रोजगारीका लागि भारत पसेको थिएँ,’ उनले भने ।
त्यस्तै भारतको हिमाञ्चलबाट दशैँ र तिहार मनाउनका लागि अछामको रामारोशन–६ का कैलाश बिक पनि फर्किएका छन् । उनी तीन महिना अघि मात्रै रोजगारीका लागि हिमाञ्चल पुगेका थिए । ‘घरमा बालबच्चा, आमा–बुवालाई पाल्नका लागि खर्च जुटाउन देश छोड्नैपर्छ,’ उनले भने । गौरीफन्टा नाकाबाट दैनिक १५ सयको हाराहारीमा नेपालीहरु स्वदेश फकिने गरेका छन् ।
















