धनगढी- कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गगरको आज उद्धार गरिएको छ । स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना, क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गगरको उद्धार गरेका हुन् ।
घाइते अजिङ्गगर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनूभएका संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए ।
उहाँका अनुसार अजिङ्गगरको टाउकोमा चोट लागेको छ । उद्धार गरिएको अजिङ्गगर डेढ मिटर लामो र १० केजी तौलको रहेको जनाइएको छ । अजिङ्गगरको पशु प्राविधिक एवम् संरक्षणकर्मी प्राङकुश चौधरीले उपचार गरे ।
उपचार पश्चात् अजिङ्गगरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको ढुङ्गानाले बताए । केही दिनअघि पनि सो नगरपालिकामा रहेको धान खेतमा घाइते अवस्थामा वयस्क अजिङ्गगर फेला परेको थियो ।
















