दाङ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पु¥याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छन् ।
दाङको घोराही उपमहानगरपालिका–११ जीतपुरस्थित सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउन सबै दलहरुबीच सहकार्य हुने धारणा राखिन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताइन् ।
सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पु¥याउने तयारी भईरहेको बताउँदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन् । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो बिषयलाई छिटोभन्दा छिटो हल गरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेकी शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राखिन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्व पीडितलाई न्याय दिने बताइन् ।
भेटमा सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।













