महेन्द्रनगर– खाद्यान्नको तुलनामा नर्सरीबाट बढी आम्दानी हुने गरेको किसानहरूले बताएका छन् । सोही कारण महेन्द्रनगरका किसानले धान र गहुँ बालीको विकल्पमा नर्सरी खेती गर्न थालेका छन् ।
भीमदत्त नगरपालिका वडा नं–१९ बागफाँटाका कृषक दुखी रानाले धानको सट्टा विगत १८ वर्षदेखि नर्सरी खेती गर्दै आएको बताए । धान र गहुँ खेतीभन्दा नर्सरी र तरकारी खेतीमा राम्रो आम्दानी हुने उनी बताउँछन् ।
प्याजको बेर्नाबाट नर्सरी व्यवसाय सुरु गरेका उनले पछिल्लो समय बन्द गोभी, फुल गोभी, खुर्सानी, टमाटर, बैगुन, ब्रोकाउलीलगायतका तरकारीको समेत आफैंले नर्सरीमा बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेको बताए ।
उनले भने, ‘१८ वर्षपहिले पनि १ केजी प्याजको बोट १ सय रुपैयाँमा बिक्री गर्ने गरेकोमा अहिले पनि उक्त बोटहरू १ सय रुपैयाँमा नै बिक्री हुने गरेको छ ।’ प्याजको नर्सरी गर्नको भारतदेखि त कहिले कञ्चनपुरमा रहेको महाकाली अग्रावेरीबाट बीउ ल्याउने गरेको उनी बताउँछन् ।
रानाका अनुसार लकडाउनको समयमा भारतदेखि प्याजको बीउ ल्याउँदा १ केजी प्याजको बीउ भारु ३ हजार तिरेर ल्याएकोमा उक्त समयमा भने आफूले ३ सय रुपैयाँ केजीमा प्याजको बोटहरू बिक्री गरेको बताए ।
तर बढीजसो तरकारीका लागि नर्सरीबाट नै बीउ ल्याउने गरेको रानाको भनाइ छ । रानाले महाकाली अग्रवेरीबाट ५० वटा प्याकेट बन्द गोभी, फुल गोभी, खुर्सानी, टमाटर, बैगुन र ब्रोकाउलीको बीउहरू ल्याएर नर्सरी गरेका छन् ।
रानाले नामधारी खुर्सानीको बीउ १० प्याकेट ६ सय रुपैयाँमा खरिद गरेर ल्याएका छन् भने लक्ष्मी जातको टमाटरको बीउ ६ सय ५० रुपैयाँमा र मनीषा जातका टमाटरको बीउ ७ सय रुपैयाँमा खरिद गर्ने गरेको बताए । १ प्याकेट बैगुनको बीउ ३ सय रुपैयाँमा खरिद गरेर ल्याएको राना बताउँछन् ।
‘अहिले नर्सरीबाट नै ७० देखि ८० हजार आम्दानी हुने गर्छ भने नर्सरीसँगै तरकारी खेतीबाट १ लाख रुपैयाँभन्दा पनि बढी आम्दानी हुने गरेको उनी बताउँछन् । रानाले नर्सरी र तरकारी खेतीमा सिँचाइका लागि बोरिङसमेत जडान गरेका छन् ।
नर्सरी र तरकारी खेतीको मलको लागि निड्स नेपालले १ केजी गडेउला दिएको रानाले बताए । रानाले नर्सरी र तरकारी खेतीमा युरिया, डिएपी, कुखुरा र गँड्यौलाको मल प्रयोग गर्ने गरेका छन् । गत वर्ष कृषि ज्ञानकेन्द्र कञ्चनपुरबाट २७ हजार रुपैयाँ तरकारी खेतीका लागि अनुदान दिएको थियो ।
एनएसडब्लुएमा गोभी गोडमेलका लागि एउटा मेसिनको माग गरेकोमा उक्त संस्थाले ५० हजार रुपैयाँ अनुदान दिएको रानाले बताए । संस्थाले गरेको ५० हजार रुपैयाँ अनुदानबाट २५ हजारको गोभी गोडमेलका लागि मेसिन खरिद गरेको हो । त्यसैगरी साना किसान संस्थाका अध्यक्ष भवानी सिंह रावलले २०७८ सालमा चम्पा ट्याक्टर अनुदान गरेको बताए ।













