धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का बलबहादुर खत्रीले ईडिभी फाराम भरे तर निराश पनि प्रकट गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थित समर्पण पुस्तक पसलमा ईडिभी फाराम भर्न पुगेका उनले आफूसहित श्रीमती छोराछोरीका लागि ईडिभी फाराम भरे ।
त्यसक्रममा उनले भने ‘देशमा रोजगारीको गतिलो माध्यम भएको भए यसरी फाराम भर्नुपर्ने थिएन । स्वदेशमै बसैँ भने बेरोजगार भएर बस्नुपर्छ अहिले त आर्थिक मन्दी पनि छ ।’
उनले ईडिभी भरे पनि पर्ने नपर्ने निश्चित नहुने भन्दै निराशासमेत प्रकट गरे । ‘भाग्य चम्के परिवारसहित अमेरिका जान पाइनथ्यो,’ उनले भने । अमेरिका जान पाइने आशा बोकेर इडिभी भर्ने उनी एक पात्र मात्रै हुन् । अहिले त झन उनी जस्ता हजारौँ नेपालीहरूले पछिल्लो समय ईडिभी भर्न थालेका छन् ।
स्वदेशमा रोजगारी सिर्जना नभएपछि युवाहरु ईडिभी भर्न थालेका छन् । पेशाले शिक्षक धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का गिरीराज भट्टले देशको परिस्थितिले युवाहरुलाई अमेरिका जाने आशाका साथ इडिभी भर्ने बाध्यता रहेको बताउँछन३ । पेशाले एक विद्यालयका प्रिन्सिपल रहेको भट्टले पनि ईडिभी भरेका छन् ।
देशमा बस्ने रहर हुँदाहुँदै पनि देशको परिस्थिति, नियम कानुन तथा आर्थिक मन्दी लगायत स्वदेशमै भविष्य नदेख्दा परिवारसहित इडिभी भरेको उनले बताए । ‘देशको राजनीतिक अवस्था देख्दा म मात्रै होइन युवा, व्यवसायी देखी बिद्यार्थीहरु पनि आजित छन् । यस्तो अवस्थामा जतिसक्दो छिटो विदेश गए मनमा शान्ति हुन्छ की भनेर ईडिभी भरेँ’ उनले भने ।
अमेरिका जाने भन्दै अहिले परिवारका सबै सदस्यसहित डिभी भर्नेको लाम लाग्ने गरेको इडिभी भर्ने व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार सरकारी कर्मचारीहरु समेत ईडिभी भर्न तछाडमछाड गरिरहेको बताउँछन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थीत समर्पण पुस्तक पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणले यस वर्षको ई डिभी भर्ने म्याद सकिन लाग्दा ई डिभी भर्नेको संख्या दैनिक बढ्न थालेको बताए ।
सरकारी कर्मचारी, डाक्टर बैङ्किङ क्षेत्रका व्यक्ति तथा राष्ट्रसेवक कर्मचारीहरू समेत ई डिभी भरिरहेको उनले बताए । विगत चार वर्षदेखी निरन्तर ईडिभी फाराम भर्दै आएको बताउँदै उनले आफ्नो पसलबाट अघिल्लो पटक सात जनाको ईडिभी परेको बताए ।
ईडिभी फाराम भरेर अमेरिका जानेहरू प्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यस्तो धमाधम विदेश पलायन हुँदा देशमा युवा जनशक्ति अभाव हुन्छ की भन्ने मनमा लागिरहन्छ ।’ सन् २०२५ का लागि असोज १८ गतेदेखि खुलेको अनलाइन मार्फत भरिने इडिभी फाराम आवेदन कार्तिक २१ गते सकिँदैछ ।
















