कैलाली- कैलालीको टीकापुरमा केराबालीमा अहिले पानामा रोगको नयाँ प्रजाति टीआर फोर रोगको प्रकोप देखिएको छ । गत साउनमा टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको जाँचका लागि नमुना संकलन गरी परीक्षण गरिएको थियो । टीकापुरमा लगाइएको व्यावसायिक केरा खेतीमा चार देखि ५० प्रतिशतसम्म टीआर फोरको प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
५० प्रतिशत प्रकोप देखिएको केरा बालीका मालिक हुन् देवीराम कोइराला । उनले टीकापुर क्षेत्रमा १४ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् ।
उनको टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित करिब ६ बिघा प्लटमा रोपिएको केरा बालीमा सो रोगको प्रकोप देखिएको छ । ‘साउनमै केराको पात पहेँलो भएर सुक्दै गएको थियो,’ उनले भने, ‘सुरुमा के भएको भन्ने थाहा नै भएन, पछि नार्कको विज्ञहरुले जाँच गर्दा पानामा रोगको संक्रमण भएको थाहा पाइयो ।’
कैलाली जिल्लाभरमा १५ सय हेक्टर क्षेत्रफलमा हुने केरा खेतीमध्ये ७ सय हेक्टर टीकापुर एरियामा मात्रै गरिन्छ । कोइरालाले जी नाइन प्रजातिको केरा लगाएका छन् । पानामा रोग बिरुवा, पानी र माटोबाट सजिलै सर्ने भएकाले ढुवानी गर्ने सवारी साधनबाट रोग सरेको हुन सक्ने कोइरालाको अनुमान छ । ‘केरा ढुवानीका लागि विभिन्न स्थानबाट सवारी साधन आउने गरेका थिए,’ उनले भने, ‘त्यहीँबाट सरेको हुनुपर्छ ।’
६ बिघाको केराबालीबाट करिब ७० लाख आम्दानी हुने उनको अनुमान थियो । तर बाली नै नष्ट भएपछि उनको सो रकम डुबेको छ । ‘असार–साउनमा रोपेको केराबाट हाल उत्पादन लिने समय हो,’ उनले भने, ‘अहिले बजारको भ्यालु हेर्ने हो भने ७० लाख रुपैयाँ नोक्सान भएको छ ।’
केरा बालीमा पानामा रोग देखिएको सुरुका दिनमा धेरैको चासो भए पनि पछिल्लो समय स्थानीय निकायले समेत चासो नदिएको उनले गुनासो गरे । ‘सुरुमा केन्द्रबाट केराको रोग परीक्षण गरियो,’ उनी भन्छन्, ‘अहिले कसैले चासो दिएको छैन, कृषि ज्ञान केन्द्रमा बारम्बार फोन गर्दा पनि कुनै सुनवाइ भएको छैन ।’
कैलालीको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शर्माले कैलालीबाट निकासी हुने केराबाट अन्य स्थानमा सर्न नदिनका लागि जिल्लाको मुख्य नाकामा निगरानी गर्न छलफल भइरहेको बताए ।













