धनगढी- चालु आर्थिक वर्षमा धानको उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको हो। गत वर्षको तुलनामा मलको आपूर्ति पर्याप्त र बाढीको प्रकोप नभएकाले सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढ्ने देखिएको छ । यस वर्ष ५ देखि १० प्रतिशत धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
‘गत वर्षको तुलनामा यो वर्ष बाढीले बाली नोक्सान गरेन,’ कृषि विकास निर्देशनालय सुदूरपश्चिम डोटीका सूचना अधिकारी केशव पाण्डेले भने, ‘रोग किराको पनि प्रकोप नदेखिएकाले धानको उत्पादन बढ्छ ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष (२०७९/०८०) मा सुदूरपश्चिम प्रदेशमा एक लाख ६१ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाई भएको थियो, जसमा ५ लाख ८३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भदौ १ गतेसम्ममा एक लाख ७६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।













