धनगढी- कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
चाडपर्वमा फूलको मालामात्रै प्रयोगका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयसहित २७ जना किसानले फूल खेती गरेका छन्। धनगढी उपमहानगरपालिकाको कार्यालयले वडा नम्बर ६ मा एक बिघा जमिनमा वभिन्न जातका सयपत्री र मखमली फूलको खेती गरेको छ। यसैगरी, सो कार्यालयबाट तालिम लिएर किसानले चार बिघा जमिनमा खेती गरेका छन्।
धनगढी उपमहानगरपालिकाभित्र वार्षिक २० टन फूल उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक रुपमा फूल खेती भइरहेको धनगढी उपमहानगरपालिकाका कृषि शाखाका फूल स्रोतव्यक्ति लोकेन्द्र सिंहले बताए । उनले स्थानीय स्तरमा तिहारका लागि पर्याप्त मात्रामा फूल उत्पादन भएको उल्लेख गरे । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा प्लाष्टिक प्रयोगमा निषेध गरेको छ।
धनगढीमा चाडपर्व अगाडि, चाडपर्वको बेला र चाडपर्वपछि उत्पादन हुने फूललाई कसरी बजारीकरण गर्ने भन्ने सवालमा किसानलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ। चाडपर्वभन्दा अगाडि उत्पादित फूल बिक्रीमा समस्या देखिएपछि समर्थन मूल्यमा किसानको फूल धनगढी उपमहानगरपालिकाको कार्यालयले नै खरिद गरेको थियो।
तिहारको बेला भने किसानको सबै फूल बिक्री हुने सिंहले बताउनुभयो। यसैगरी, तिहारपछि उत्पादन हुने फूल बिक्रीका लागि काठमाडौं पठाउने उनले उल्लेख गरे । धनगढीमा किसानले कर्मा ५५५, कर्मा १११, टेनिस बल, कलकटिया र स्थानीय जातका सयपत्री फूलको खेती गरेका छन्। यस्तै, मखमली फूलको खेती पनि गरिएको छ।
प्लाष्टिक निषेधित धनगढीलाई हरियो सहर बनाउने अभियान चलाइएको छ। सो अभियान अन्तर्गत किसानलाई फूल खेतीमा अग्रसर गराइएको हो। यसले प्रतिबन्धित प्लाष्टिकको माला प्रयोगलाई निरुत्साहित गर्नुका साथै भारतबाट फूल आयातलाई पनि विस्थापित गर्ने सिंहले बताए । “साथै, किसान स्थानीय स्तरमै रोजगार भइ आर्थिक आम्दानी पनि गर्नेछन्”, उनले भने।
धनगढी उपमहानगरपालिकाको कार्यालयले प्लाष्टिक निषेध गरी भारतबाट फूल आयातमा पनि बन्देज लगाएकाले फूल खेती गरेका किसानलाई पनि आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ। उत्पादित फूलको लागि बजारको समस्या नरहेको धनगढी उपमहानगरपालिका–६ मटियारीमा फूल खेती गरिरहनू भएका दार्चुलाका शङ्कर विष्टले बताए । उनले डेढ बिघा जमिनमा फूल खेती गरेका छन् ।
“दसैंमा प्रति केजी खुद्रामा पाँच सय र थोकमा ४५० रुपियाँका दरले दुई क्वीन्टल जति फूल बिक्री गरेँ”, उनले भने, “धनगढी उपमहानगरपालिकाले फूल बिक्रीमा सहयोग गरिरहेकाले बजारको समस्या छैन।” उनले तिहारका लागि धनगढीमा फूलको कुनै कमी नहुने उल्लेख गरे ।
















