धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले सडकमा जडान गर्न खरिद गरेका ‘एलइडी ब्लब’ (बत्ती) अहिले थन्किएका छन्। वडाभित्रका सडकमा जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेपछि खरिद भएका बत्तीहरु वडा कार्यालयमा थन्किएका हुन्।
भदौ २६ गते बोलपत्र आह्वान गर्दै वडा नम्बर २ को कार्यालयले ‘आइएसओ’ प्रमाणित बत्तीहरु खरिद गरेको थियो। तर, उपमहानगरपालिकाले गुणस्तरहीत बत्ती भन्दै जडान गर्न रोकेको छ। वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका कारण समयमै जडान हुनुपर्ने सडक बत्तीहरु जडान हुन नसकेको बताए।
‘हामीले ठेक्का प्रक्रिया पूरा गरेका छौं। सबै गुणस्तरका बत्ती छन् तर जडान गर्दैगर्दा नगर प्रमुखले रोके’ उनले भने, ‘तिहारभित्रै वडाका सडकलाई उज्यालो बनाउने गरी काम गर्दा उपमहानगरपालिका नै बाधक बन्यो।’ धनगढी उपमहानगरपालिका वडा नम्बर २ मात्र नभई अधिकांश वडाले सडक बत्ती जडान गरी खरिद गर्दा उपमहानगरपालिकाले रोकेको गुनासो छ।
वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने, ‘हामीले प्रक्रिया पूरा गरेरै गुणस्तरीय बत्ती खरिद गरेका हौं। नगर प्रमुख हमालले हामीले खरिद गरेका बत्तीमा गुणस्तर नभएको भन्दै वडालाई उज्यालो बनाउने अभियान रोक्नुभयो।’
उनले बत्ती खरिद गरेर जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेको बताउँदै भने, ‘केही ठाउँमा बत्तीहरु जडान भइसकेको छ। त्यो ठाउँमा जडान भएको रकम तिर्नुपर्ने छ। पूरा काम नै हुन नपाएपछि कसरी तिर्ने हो। गुणस्तर मापन पनि कसले गर्ने हो। कहिले हुने हो? तिहारमा धनगढीका सडक उज्यालो बनाउने हाम्रो अभियान थियो। तर अधुरै रह्यो।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले सहिदगेटदेखि राष्ट्र बैंकसम्मको पुलमा सडक बत्ती जडान गर्न खरिद प्रक्रिया पूरा गरी बत्ती खरिद गरेको थियो। कालोपत्रे भई अन्तिम रुप पाइरहेको सहिदगेटदेखि क्याम्पसरोडसम्मका सडकहरु अन्धकारमय छन्।
वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले भने, ‘हामीले खरिद गरेका बत्तीलाई गुणस्तरहीन भन्दै जडान गर्न दिइएको छैन्। हामीले आइएसओ प्रमाणित बत्तीहरु खरिद गरेका छौं। जो राम्रो छ।’ उनले नगर प्रमुख हमालले आफैंमात्र उज्यालो अभियानको हिरो बन्न चाहेर वडाले जडान गरिरहेका बत्तीहरु रोकेको आशंका व्यक्त गरे।
उनले भने, ‘छ लेन सडकमा बत्ती जडान गर्दा तीन–तीन पटक विभिन्न मन्त्रीहरुबाट समुद्घाटन गराउनुभयो। हामीले वडाका सडक उज्यालो बनाउन खोजेका थियौं। कसैबाट उद्घाटन गराएर चर्चा पनि पाउनु छैन। हामी आफ्नै ढंगले काम गरिरहेका थियौं। एक्कासी जडान नगर्न भन्दै पत्र आयो।’













