धनगढी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गैह्र–सरकारी संस्था समन्वय विभाग संयोजक डा रणबहादुर रावलले सुदूरपश्चिम सरकारले गैह्र–सरकारी संस्थाहरूसङ्ग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् ।
लोकतान्त्रिक गैह्र–सरकारी संस्था महासंघ कैलालीले धनगढीमा आयोजना गरेको नेपाली काँग्रेस गैह्र–सरकारी संस्था समन्वय विभाग केन्द्रीय समितिको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले भन्दा पनि एन्जिओ/आइएन्जिओहरुको देशमा हालीमुहाली गरिरहेका बताए ।
काँग्रेस निकटका एन्जिओहरुलाई कसरी बलियो बनाउने र चुनौतीहरू समाधान गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यस तर्फ पनि आफू लागि पर्ने उनले बताए । एन्जिओहरुलाई पार्टी लगायत सरकारले पनि गम्भिरताका साथ हेरेको र जनताले पनि एन्जिओहरुलाई विश्वास गर्न गरेको उनको भनाइ छ ।
‘गाउँ, घरमा सरकारी कर्मचारी गयो भने जनताले सरकारले गरेका कामहरू लुकाउने गर्छन् । तर एन्जियोका कर्मचारीहरू जाँदा खुलेर भन्छन् । त्यसैले सरकारले एन्जिओसँग समन्वय गर्न सक्यो भने धेरै फाइदा हुन्छ,’ उनले भने ।
लोकतन्त्र आएपछि जनताले आफ्नो हक अधिकार सुनिश्चितता गर्न खोजेको उनले बताए । लोकतन्त्रमा कम विश्वास गर्दा बाहिरबाट आउने फन्टहरू पनि एन्जियो/आइएन्जियोको हातमा जाने गरेको उनको भनाइ छ ।
बजेटको १० प्रतिशत भन्दा बढी बजेट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एन्जिओ/आइएन्जिओमा आउने गरेको उनले बताए । एन्जिओआइएन्जिओका समस्याहरूलाई समाधान गर्नतर्फ आफू कटिबद्ध भएर लाग्ने उनले बताए ।
















