धनगढी- कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको मोहना नदिको गोबरैला घाटमा मत्स्य विकास निर्देशनालय गेटाले दश हजार माछाको भुर्रा छोडेको छ। मंगलबार विश्व मत्स्य दिवसको अवसरमा निर्देशनालयले मोहनामा माछाको भुर्रा छोडेको हो।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले माछाका भुरा छोडेका हुन्। उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले कैलाली र कञ्चनपुर मात्र नभई सुदूरपश्चिममा प्राकृतिक तालको सम्भावना धेरै भएको बताए। कर अनुसार यहाँ माछा उत्पादन हुन नसकेको उनले बताए।
मोहनालाई प्राकृतिक जलाशय बनाउने उद्देश्यले त्यहाँ माछाका भुरा छोडिएको निर्देशनालयका निर्मल खातीले बताए। कैलालीमा तीन सय ८९ हेक्टर ताल क्षेत्रफल रहेको छ।
मत्स्य विकास कार्यक्रमका सम्भाव्यता अध्ययन अनुसार कैलालीमा जलाशय क्षेत्रफल दुई सय ५४ हेक्टर रहेकोमा एक सय तीन हेक्टर मात्र प्रयोगमा आएको जनाएको छ।
















