धनगढी- कोइला अभावका कारण आरन व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय आरन व्यवसायका लागि आवश्यक पर्ने कोइला अभाव हुन थालेपछि व्यवसाय संकटमा पर्न थालेको हो ।
आजकाल प्रायः आरन व्यवसाय गर्ने आरन व्यवसायी कमै भेटिन्छन् । फाट्फुट्टै भेटिने आरन व्यवसायी पनि कोइला अभावका कारण व्यवसायमा समस्या हुन थालेको बताउँछन् । कैलालीको गोदावरी नगरपालिका–८,स्याउले बजारका शेरबहादुर तिरुवा कोइला अभावले व्यवसायमा समस्या आउन थालेको बताउँछन् । आरन व्यवसायबाट १० जनाको परिवार पाल्दै आएका ५० वर्षीय शेरबहादुर कोइला किनेर व्यववसाय चलाउनु परेको बताउँछन् ।
उनले भने ‘सामुदायिक वनबाट ल्याउन मिल्दैन्,गाउँबाट कोइला बेच्ने आउँछन्,उनीहरुबाट ५ सयको १ कट्टाका दरले किन्छु’ । ‘अरु त समस्या केही थिएन उनले भने कोइला किन्नु पर्छ,औजार पनि आधुनिक किसिमका भएनन्,पुरानै किसिमको औजारले काम गर्न समस्या हुन्छ’ । समयानुकुल व्यवसाय हुन नसक्दा आरन व्यवसाय पछिल्लो पुस्ताले नगर्ने अवस्था आएको उनी बताउँछन् । उनले भने ‘औजार आधुनिक किसिमका भएको भए सामान बनाउँन पनि सजिलो हुन्यो,आधुनिक किसिमका औजारबाट काम गर्न पाए नयाँ पुस्ताले पनि काम गर्थे कि ।
उनले कृषि कार्यमा चाहिने हसिया,कुटो,कोदालोलगायतका सामान बनाउँछन् । शेरबहादुर आरन व्यवसायबाट राम्रै कमाइ पनि गर्छन् । उनले भने दिनमा कम्ती ४÷५ सय देखि हजारसम्म कमाइ हुन्छ,नयाँ सामान बनाए त बढी पनि कमाइ हुन्छ तर कोइला र औजारको समस्या छ । छोराछोरीको पढाइलेखाइ देखि सम्पूर्ण घर खर्च आरन व्यवसायबाटै चलाउने गरेको शेरबहादुर बताउँछन् । उनी भन्छन् सीप त सबै छ काम गर्ने औजार भएनन् ।
त्यस्तै सोही ठाउँका आरन व्यवसायी ४८ बर्षीय जीतबहादुर तिरवा पनि कोइला अभावले आरन व्यवसाय संकटमा पर्न थालेको बताउँछन् । उनले पनि २० वर्षदेखि आरन व्यवसाय नै मुख्य पेशा बनाएर काम गरिरहेका छन् । ‘आरन व्यवसायबाटै परिवारको लालनपालन देखि घर खर्च चलाउथे’ उनले भने ‘अहिले त कोइला पाइन छोड्यो आरनको काम गर्नै समस्या भएको छ’ ।
‘वनमा जान मिल्दैन् खोलाको किनारबाट काठ ल्याएर कोइला बनाएर काम गर्नु पर्छ कोइलाको साह्रै समस्या छ’ उनले भने ‘औजार पनि आधुनिक किसिमका भएनन् काम गर्न अप्ठ्यारो छ’ । उनले पनि कृषि कार्यमा प्रयोग हुने सबै औजारको काम गर्छन् ।
















