धनगढी- नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडल–३ मा प्रायोजकहरु जोडिने क्रममा पोखराको बोस्टन होटल पनि टुर पार्टनरका रुपमा जोडिएको छ । बोस्टन होटल पोखराको ड्याम साइडमा रहेको बोस्टन होटल पछिल्लो समयमा कलेजको टुरमा वा व्यक्तिगत रुपमा पोखरा पुग्ने पर्यटकहरुको रोजाई बन्ने गरेको छ ।
कला क्षेत्रको प्रबर्द्धन आफ्नो पनि जिम्मेवारी भएकाले यस कार्यक्रममा जोडिएको कुरा बोस्टन होटलका संचालक डण्ड ओझाले बताए । एसईई आईडलको यस संस्करणमा गुरुजि सटिङ एण्ड सुटिङ, समैजी अफसेट प्रेस, होटल डिभोटी, एम।बि। पनि प्रायोजकको रुपमा जोडिसकेका छन् ।
एसईई आईडलका सुदूरपश्चिमका ९ जिल्लाका २५ बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुदूरपश्चिममा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् ।
जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०–५० हजार रुपैयाँ र २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११ र १२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।













