दार्चुला- दार्चुलामा दुई ओटा बस एक आपसमा ठोक्किएका छन् । महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा सोमबार दिउँसो बसहरू एक आपसमा ठोकिएका हुन् ।
दुई बस एक आपसमा ठोक्किँदा बसहरूमा क्षति भएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सु.प.प्र. ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सु.प.प्र.०१००१ ख २३९३ नम्बरको नगर बस एक आपसमा ठोक्किएका हुन् ।
महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो । दुवै बस एक आपसमा ठोक्किँदा बसहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
नगर बसमा बढी क्षति पुगेको उनले बताए । एक आपसमा बस ठोक्किएपछि अहिले महाकाली राजमार्ग अवरुद्ध रहेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।













