रुकुम- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासंघ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् । भूकम्प प्रभावित र प्रभावितस्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिइन्।
मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहेकी छन् । उनले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेकी थिइन्। आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।













