धनगढी- सुदूरपश्चिम महोत्सवको टिकट अनलाइन खरिद गर्न सकिने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २२ गतेदेखि पौष २ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रवेश टिकट खल्ती एपबाट खरिद गर्न सकिने भएको हो ।
दर्शकहरुको सहजता तथा समयानुकुल बनाउन अनलाइन टिकट बिक्री गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन् ।
उनले भनिन् ‘ यो समयको माग पनि हो,घरमै टिकट लिन सकिने भएकाले दर्शकलाई सजिलो पनि हुन्छ’ । अघिल्ला वर्षहरुमा कागजी टिकट बिक्री गर्दै आएको संघले यसवर्ष कागजी टिकटका साथै खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
महोत्सव स्थलमा प्रवेशका लागि विद्यार्थीलाई रु ५० र सर्वसाधारणालाई रु १ सय टिकटदर राखिएको छ । भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
महोत्सवको तयारी करिब करिब अन्तिम चरणमा रहेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्सवमा ४ सयको हाराहारीमा स्टलहरु रहने जनाइएको छ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ ।
















