धनगढी- नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडल-३ मा प्रदेश युवा परिषद्, सुदूर पश्चिम मुख्य प्रवर्द्धकका रूपमा जोडिएको छ । युवाहरूको चौतर्फी विकासका लागि क्रियाशील प्रदेश युवा परिषद् सुदूर पश्चिम र एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्टका बिचमा भएको सम्झौता अनुसार एसईई आइडलको तेस्रो संस्करणमा आयोजकले मुख्य प्रवर्द्धकको रूपमा प्रदेश युवा परिषद्को साथ पाएको हो ।
यस कार्यक्रमले सुप भरिका युवा विद्यार्थीहरूको क्षमताको प्रवर्द्धन गर्ने र युवाहरूमा डर लाग्दो तरिकाले मौलाई रहेको लागूपदार्थ दुर्व्यसनीबाट पनि युवाहरूलाई टाढा राख्न केही हदसम्म मद्दत गर्ने हुनाले यस कार्यक्रमलाई साथ दिएको प्रदेश युवा परिषद् सुदूर पश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताएका छन् ।
एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरू आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । यस वर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।
जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ भने यस संस्करणका अडिसनहरू पनि आयोजना भई रहेका छन् ।













