धनगढी- एसइई धनगढीको जुगेडामा रहेको मिलन ई.बो.स्कुलमा प्रभात मिडिया एण्ड इभेन्ट प्रा।लि।ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसइई आइडलको तेस्रो संस्करणको अडिसन सम्पन्न भएको छ । नृत्य र गायन विधाको प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसइई आइडलका अडिसन धमाधम आयोजना हुने क्रममा आज मिलन स्कुलमा बाह्रौँ अडिसन सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सिताराम बुढाथोकीले विद्यार्थीलाई पढाई सँग उनीहरूमा भएका फरक क्षमताको पहिचान र अभिवृद्धि हुनु पर्ने कुरामा जोड दिए । एसइई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यस वर्ष एसइई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।
असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।
मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसइई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न सङ्घसंस्थाको पनि विशेष सहयोग रहेको छ ।













