दार्चुला- दार्चुला तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दार्चुला आउने भएका छन् । तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गर्न मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेललगायतको टोली दार्चुला आउन लागेका हुन् ।
बिहीबार बिहान सासंद बडूसहितको टोली त्रिभुवन विमानस्थलबाट दार्चुलाका लागि नेपाली सेनाको एन ए ०५४ नम्बरको हेलिकोप्टरमार्फत प्रस्थान गरिसकेको र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा तिंकर सडक अनुगमन गर्ने तयारी रहेको सासंद बडूले बताए । मन्त्री ज्वाला नेतृत्वको टोलीले सुरुमा सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्ने तयारी रहेको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए ।
हिजो बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडकखण्डको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त सडक निर्माण कार्य समयबद्ध योजना बनाई तदारुकताका साथ छिटो निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिएको बताइएको छ ।
















