धनगढी- नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले तीन महिने रुपान्तरण अभियानले पार्टी,राष्ट्र र सरकारलाई समेत रुपान्तरण गरेको बताएका छन् ।धनगढीको गेटा बिमानस्थलमा आइतबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सबै वडा स्तरमा रचनात्मक, सिर्जनात्मक काम भएको उल्लेख गर्दै उनले भने जनतासँगको सम्बन्ध स्थापित गर्न भूमिका खेलेको छ ।
‘आफैमा रुपान्तरण गर्न यो अभियानले त भूमिका खेलेको नै छ’ उनले भने ‘अर्को मुख्य कुरा आत्म सुधार,आत्म नवीकरण, आत्म अभिबृद्धि गर्ने यसको उदेश्य रहेको छ’ ।
संघीय संसदका पूर्व सभामुख समेत रहेका सापकोटाले सरकारको अबको पहिलो प्राथमिकता आर्थिक विकास रहेको बताए । ‘आर्थिक विकासका लागि प्रधानमन्त्री ज्यूले होमअर्क थालनी गरिसक्नु भएको छ’ उनले भने ‘अर्थविज्ञ सबैसँग छलफल अगाडि बढाइ सक्नु भएको छ’ ।
उनले जनतालाई अनुभूत गराउने कामका लागि सरकार लागेको बताए । उनले भने ‘सरकारले काम नगरेको होइन काम गरेको छ, सुशासन,भ्रष्टाचार,मिटर ब्याज शोषण अन्त लगायतका धेरै राम्रा काम गरेको छ’ ।
सँयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमणले बिश्व शान्तिका लागि नेपालबाट सन्देश प्रवाह भएको उनले बताए । उनले भने ‘महासचिवको भ्रमणले शान्ति प्रकृया टुंगोमा पु¥याउने कुरा र जलवायु परिवर्तनले गरेका असर समाधानका बिषयमा पनि घनिभूत छलफल भएको छ’ ।
सापकोटा पार्टीका विभिन्न कार्यक्रमामा सहभागी हुन सुदूरपश्चिम आइपुगेका हुन् ।













