धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका-६ मा माघी मेला लाग्ने भएको छ । राम जानकी सेवा समाज भक्तिनियाँ अस्थानको आयोजनामा माघी मेला लाग्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक सेवा समाजले मेला माघ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने जनाएको छ । थारु संस्कृतिको जगेर्ना गर्न थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघीको अवसरमा मेला सञ्चालन गर्न लागिएको मेला व्यवस्थापन समितिका अध्यक्ष राज कठरियाले बताए ।
त्यस्तै मेलामा थारु संस्कृति झल्किने पौराणिक नाचगान देखाइनुका साथै थारु परिकारहरु रहने उनले बताए । उनले भने ‘मेलामा थारुगाउ रहने छ जहाँ थारु संस्कृति झल्किने नाचगान हुनेछ भने थारु परिकारहरु हुनेछ’ । मेलामा थारु समुदायका पौराणिक कला संस्कृति,गीत संगीत प्रस्तुत गरिने सांस्कृतिक संयोजक खुशी रत्गैयाले बतात । उनले भने ‘साँस्कृतिक कार्यक्रममा थारु संस्कृतिसँग सम्बन्धित गीत संगीत प्रस्तुत गरिने छ’ ।
यस्ता कार्यक्रमले लोप हुन लागेको थारु कला,संस्कृति,भेषभुषा,भाषा संरक्षण एवं प्रवर्द्धनकामा टेवा पुग्ने बर्दगोरिया गाउँपालिका-६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित)ले बताए । उनले भने ‘थारु संस्कृति संरक्षणका लागि माघी मेला आयोजना गर्न लागिएको हो जहाँ थारु संस्कृति झल्किने दफ, धमार, सजना, होरी नाचलगायतका पौराणिक नाचहरू प्रदर्शन हुनेछन’ ।
मेलाको उदेश्य पर्यटन प्रवर्द्धन गर्ने पनि रहेको उनले बताए । उनले भने ‘यो मेला लाग्ने ठाउँ पर्यटकीय क्षेत्र पनि हो यसको प्रचार प्रसारका लागि पनि माघी मेला महत्त्वपूर्ण हुनेछ’ । त्यस्तै गाउँपालिकाको २०८०/८१ को विनियोजित बजेटबाट वडा कार्यालयले मेला व्यवस्थापनका लागि ३ लाख उपलब्ध गराएको उनको भनाइ छ ।
माघी मेला करिब ७ लाखमा सम्पन्न गरिने आयोजकले जनाएको छ । मेला बर्दगोरिया गाउँपालिका-६ सुगरखालमा लाग्ने जनाइएको छ ।मेला उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले गर्ने आयोजकले जनाएको छ ।













