बाजुरा- खप्तड छेडेदह गाउँपालिका–४ पड्नापानीको जग्गामा आइते रावत बर्खामा कोदो, भटमास, गहत लगाउँथे भने हिउँदमा तीन–चार क्विन्टलसम्म गहुँ फल्थ्यो । त्यहीँ उनको गाईवस्तु राख्ने गोठ पनि थियो । ‘जग्गा कम भए पनि उब्जनी साह्रै राम्रो हुन्थ्यो । त्यहीँ फलेको दालले वर्षभरि खान पुग्थ्यो । अन्न पनि राम्रै फल्थ्यो,’ ६५ वर्षीय रावतले भने, ‘अहिले त जग्गा र गोठको नामोनिसानै छैन । सउतै गड्यान (पूरै जग्गा) पैरोले लैगो ।’
पड्नापानीमा उनको मात्रै होइन, करिब १ सय २० परिवारको जग्गा थियो । केही वर्ष पहिला सुरु भएको पहिरोका कारण गाउँका सबैको जग्गा मात्रै नभएर त्यहाँ भएका गोठ पनि बगिसकेको र पहिरो निरन्तर गइरहेकाले जोखिम बढ्दै गएको उनले बताए । स्थानीयको जग्गा भएको पड्नापानी क्षेत्र र पारिपातल सामुदायिक वनमा फैलिंदै गएको पहिरोले भुगाडी टोलका बासिन्दाको खानेपानीका मुहानसमेत बगाउँदा स्थानीय १५ परिवारलाई खानेपानीको समस्या भएको छ । २०७० सालतिर सुरु भएको पहिरो पछिल्लो चाररपाँच वर्षपछि फैलिन थालेको छ । पहिरोको आकार बढ्दै जाँदा स्थानीयको खेतीपाती गर्ने जग्गा बर्सेनि कटान हुन थालेको छ भने गाउँमा जोखिम बढ्दो छ ।
पहिरो करिब दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । २५ प्रतिशतजति सामुदायिक वन र ७५ प्रतिशतजति स्थानीयको जग्गा पहिरोमा परिणत भैसकेको र नियन्त्रण हुन नसके अझै ठूलो क्षति हुने खप्तडछेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीले बताए ।
‘गाउँलेको कमाइ खाने जग्गा, खानेपानीका मुहान, घाँस काट्ने वनजंगलदेखि हिँड्ने बाटोघाटो पनि बगाइसक्यो,’ उनले भने, ‘सालसालै पहिरो बढ्दै छ । नियन्त्रण गर्न सकिएन भने अहिले त जग्गा मात्रै बगाएको छ । पछि गाउँ नै नबगाउला भन्न सकिन्न ।’ उनले पहिरो निकै ठूलो क्षेत्रफलमा फैलिएका कारण सानोतिनो स्रोतले नियन्त्रण गर्न नसकिएको बताए ।
पछिल्लो समय जिल्लाभित्र र बाहिरका पर्यटकको रोजाइमा रहेको खप्तड छेडेदह ताल हेर्न आउनेको संख्यामा वृद्धि हुन थालेको छ । खप्तड छेडेदह गाउँपालिका–४ र ७ मा पर्ने यो तालमा पर्यटक वृद्धि हुँदै गएको देखेर केही स्थानीयले पर्यटक लक्षित व्यापारमा पनि लगानी गर्न थालेका छन् ।
तालतर्फ बढ्दै आइरहेको पहिरोका कारण भने यहाँ लगानी गरिरहेकाहरू लगानी डुब्ने चिन्तामा परेका छन् । तीन वर्षअघि १५ लाख रुपैयाँ लगानीमा पर्यटकलाई बस्ने, खाने र तालिम हलको पनि सुविधा भएको होटल खोलेकी सुनकेशरी राउतले तालतर्फ फैलिंदै गरेको पहिरो देख्दा आफू झस्किने गरेको बताइन् ।
‘हामीले होटल खोल्दा पहिरो तालसम्म पुग्ला भन्ने केही अनुमान नै थिएन । दुईरतीन वर्षमै तालमै पहिरो पुगिसक्यो,’ पर्यटकको आकर्षणको केन्द्र रहेको छेडेदह तालको ३० मिटरजति नजिक पहिरो पुगिसकेको बताउँदै उनले भनिन्, ‘यो ताल हेर्न मान्छे आउँछन् भनेर ऋण गरेर यत्रो लगानी गर्यौं । ताल नै रहेन भने यहाँ को आउलान् र रु’ उनले पहिरो नियन्त्रणको कुनै उपाय अवलम्बन नगरिए एकरदुई वर्षमा छेडेदह ताल बग्ने निश्चितजस्तै भएको बताइन् ।
देवी रिसाएर पहिरो लागेको हो कि भनेर स्थानीय मिलेर बोकाको बलि दिएर पूजा गर्दा पनि नरोकिएको स्थानीय बताउँछन् । पहिरो नियन्त्रणका लागि यहाँ पुग्ने सरकारका प्रतिनिधि र संघसंस्थाका मान्छेलाई अनुरोध गरे पनि कसैले नसुनेको स्थानीयको आरोप छ ।
‘मान्छे त आएका आयै हुन्छन् । कहिले नेताहरू आउँछन् । कहिले संघसंस्थाका मान्छे आउँछन्,’ स्थानीय विमल रावतले भने, ‘केन्द्र, प्रदेशका माननीयहरूले पनि हेरेर गए । तर नियन्त्रणका लागि कसैले केही गरिदिएनन् ।’ उनले पहिरो हेर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाका मानिस आए पनि सानोतिनो रकमले काम नहुने भन्दै टार्ने गरेको र नियन्त्रणको पहल नगर्दा जोखिम झन्झन् बढ्न थालेको बताए ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले खप्तड छेडेदह ताल मात्रै नभएर पालिका नै पहिरोको जोखिममा रहेको र स्थानीय तहको स्रोतले नियन्त्रण गर्न सम्भव नभएपछि प्रदेश र केन्द्र सरकारलाई गुहार्दा सुनुवाइ नभएको गुनासो गरे । पालिकाको छेडेदह, गुम्लागाउँ, गुइवन, पारतोला, नइना तल्लो लिसाना, सेरालगायतका क्षेत्रमा रहेको पहिरो नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, वन मन्त्रालयका सचिवलगायतलाई स्थलगत अनुगमन गराइसके पनि कतैबाट सहयोग नपाएको उनले बताए ।
‘पहिरो नियन्त्रण गरिदिनु पर्यो भनेर केन्द्र, प्रदेश सबैतिर अनुरोध गरिरहेको छु,’ उनले भने, ‘आएर हेर्छन् । साह्रै जोखिम रहेछ केही उपाय खोज्छौं भन्छन् तर अहिलेसम्म कतैबाट केही सहयोग भएको छैन ।’ उनले पालिकाले पहिरो नियन्त्रणका लागि यस वर्ष पहिरोग्रस्त क्षेत्रमा २० हजार भेटेवरको विरुवा रोप्ने योजना बनाए पनि यो पर्याप्त नहुने बताए । कान्तिपुरबाट
















