धनगढी- कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ र ४ का किसानलाई सिचाई बोरिङ वितरण गरिएको छ । सहास नेपाल र कैलारी गाउँपालिकाको संयुक्त साझेदारीमा १८ जना किसानहरूलाई सिचाई बोरिङ वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमका बिच सिचाई सुविधा नभएका किसानहरूलाई बोरिङ वितरण गरिएको हो ।
बोरिङ वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वडा नम्बर ४ मा सुकुम्वासी, दलित, मुक्त कमैया बसोबास रहेको वडा हो । यहाँका किसानहरूका जग्गा पनि अलिअलि रहेको छ । सिचाई सुविधा नभएकोले बोरिङ वितरण गरिएको बताए ।
गाउँपालिकाले बगर खेतीको अवधारण ल्याएर सपोट गरिरहेको तर किसान त्यतातिर ध्यान नदिएको बताए । यहाँ उत्पादन भएको तरकारी बाह्र महिना नपुग्ने भएकोले आव व्यावसायिक रूपमा जान जरुरी रहेको बताए । सहास नेपालले कैलारीको विकासमा साझेदारी गरिदिएकोमा उहाँ धन्यवाद दिनु भएको छ ।
सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्र कुमार श्रेष्ठ आफूहरूले स्रोत साझेदारीमा किसानलाई बोरिङ वितरण गरेको बताए । उहाँ आगामी दिनमा कैलारीका सबै वडामा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सिचाईका लागि १८ वटा बोरिङका लागि सहास नेपालले ८ लाख २६ हजार ५९ रुपैयाँ र कैलारी गाउँपालिकाले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष पनि किसानलाई सिचाई बोरिङ वितरण गरेको र यस वर्ष पनि निरन्तरता दिएको बताए । वडा नम्बर ४ मा सिचाईका लागि कुलो नलाग्ने भएकोले बोरिङको वितरण गरेको बताए । वडा नम्बर ४ का लागि १२ वटा र वडा नम्बर ३ का लागि ६ वटा बोरिङ वितरण गरिएको हो ।
कार्यक्रम सञ्चालन सहास नेपालका कार्यक्रम संयोजक नरेश चौधरीले गरेका थिए । उक्त कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐर, वडा नम्बर ४ वडा सदस्य, कार्यपालिका सदस्यलगायत सहास नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।













