धनगढी- कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा आजदेखि माघ महोत्सव हुने भएको छ। थारु कल्याणकारिणी सभाको आयोजनामा आजदेखि माघ महोत्सव सुरु हुने भएको हो । माघ १४ गते सम्म सञ्चालन हुने महोत्सवको नारा संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने राखिएको छ।
थारु कल्याणकारी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले महोत्सवमा स्थानीय झाँकीहरु प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताए।
महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरूलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ। महोत्सवमा थारु परिकार, कृर्षि उपज, स्थानीय उत्पादन लगायत १५ बढी स्टल रहने छ।
महोत्सवमा २६ गाउँका थारु नाच प्रस्तुत हुने छ। पाँच लाख अनुमानित लगानीमा हुन लागेको महोत्सवमा हजारौँले अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।













