धनगढी- सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले बयालपाटा अस्पतालको समस्या समाधान गर्ने जनाएपछि आजबाट हुने भनिएको आन्दोलन स्थगित गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खडकाले एक बिज्ञप्ती जारी गर्दै बयलपाटा अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याइ दिगो व्यवस्थापन गर्ने भनेपछि अछामको बयालपाटामा आज गर्ने भनिएको आन्दोलन स्थगित गरिएको हो ।
‘बयलपाटा अस्पताल बारे यहि माघ ११ गते मुख्यमन्त्री कार्यालयमा गरिएको वार्तामा माघ १६ गतेसम्म माग पूरा नगरिए १७ गतेबाट आन्दोलनको तयारी गर्ने भनेका थियौँ ।’ नेपाली काग्रेसका पूर्व सभापति भरतकुमार स्वारले निशाना न्युजलाई भने,‘निर्धारित समयमा माग पूरा भएपछि आन्दोलन स्थगित गरेका छौँ ।’
पछिल्लो समय अस्पताल संचालनका लागि आर्थिक अभावले बन्द हुने स्थिती पैदा भएपछि सो क्षेत्रका जनताले माग पूरा गर्न आन्दोलनको घोषणा गरेको उनले बताए । आज सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतमा ल्याई अस्पतालको व्यवस्थापन दिगोरुपमा हुने गरी पहल भइरहेको जानकारीपछि आन्दोलन स्थगित गरिएको उनले बताए ।
सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबीच भएको सम्झौता बमोजिम सञ्चालित बयालपाट अस्पतालले चिकित्सा सेवाको क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।













