बैतडी- सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात भएको छ। हिउँदे वर्षा भएसँगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। यहाँ यो वर्ष पहिलोपटक हिमपात भएको हो।
बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बोहराले बताए। पाटनको खोड्पे,अनारखोली क्षेत्रमा पनि हिमपात सुरु भएको छ। यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरूले बताएका छन्।
हिमपात भए पनि राजमार्ग अवरुद्ध भने नरहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताए। दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाका उच्च लेकाली क्षेत्रहरूमा हिमपात भएको छ। खप्तड लगायतका क्षेत्रहरूमा हिमपात भएको बताइएको छ।
यो वर्ष लामो समयपछि हिउँदे वर्षा र हिमपात भएको छ। गएको असोजदेखि वर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो। सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरू सुकेका थिए।
लामो समयपछि भएको हिउँदे वर्षा र हिमपातले बालीनालीमा फाइदा पुर्याएको किसान हरिस महराले बताए। उनले भने, ‘यो वर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरू हुर्कन सहयोग पुग्नेछ। लामो समयपछि भएको हिउँदे वर्षाले सिँचाइको काम गरेको छ। यो वर्षा हिउँदेबालीका लागि निकै लाभदायक छ।’
लामो समयपछि भएको वर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताए। खडेरीले सुक्नै लागेको बालीमा यो वर्षाले फाइदा पुगेको उनले बताए। वर्षा र हिमपातले चिसो बढ्न थालेको छ।
चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। चिसोको समयमा तातो झोलिलो कुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।













