कैलाली- कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न भवन निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो । बर्दगोरिया गाउँपालिका–२, बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो ।
आयोगका सदस्य डा.रामकुमार फुयाँलले भवन शिलान्यास गरेका छन् । उनले सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने बताए । स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याएको सहारा घरमा हाल एक सयभन्दा बढी मानसिक रोगी तथा असहाय बालबालिका आश्रय लिइरहेका छन् ।
देश विदेशबाट विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले दिएको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको थियो । सरकारले पहिलो पटक यति ठुलो योजना दिएपछि राम्रो काम गरेको अनुभूति भएको सञ्चालक विष्टले बताए । समाजसेवाका लागि अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सरकारले लिनुपर्ने भए पनि आफूले प्रयास थालेको बताए । उनले भने, “सरकारको साथले उत्साह थपेको छ ।”
भवन निर्माण योजना ठेक्का प्रक्रियामा गई निर्माण सुरु भइसकेको छ । सहारा घर सञ्चालनका लागि बन्न थालेको व्यवस्थित भवनको डिपिआर इन्जिनियर भुवन थापाले निःशुल्क रूपमा गरेका छन् । मानसिक रोगबाट पीडितले शरीरमै दिसापिसाब गरेकोसमेत थाहा नपाउने भएकाले उनीहरूको सरसफाइलाई ध्यानमा राखी सोही अनुसारको भवन निर्माणको डिजाइन गरिएको सहारा घरका सञ्चालक विष्टले बताए ।













