धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिको मर्यादाक्रम कम्तीमा राज्यमन्त्री सरहको हुनुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा प्रदेश सभा सदस्यहरूले उपकुलपतिको गरिमालाई ख्याल गर्नुपर्ने जोड दिएका हुन् ।
प्रदेश सभा सदस्य मानबहादुर रावलले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्माननीय पद रहेकाले त्यसको गरिमा उच्च हुनु पर्ने बताए । उपकुलपतिलाई उपसचिव स्तर १० औँ तहमा राख्दा प्रतिष्ठानले काम गर्न गाह्रो हुने भन्दै उनले थपे,“उपकुलपतिलाई गरिमा, सेवा सुविधा राम्रो दिऊँ, काम पनि राम्रो लिऔँ ।”
नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कला, लोकवार्ता, लोकसाहित्यका कुरा समावेश गर्नु पर्ने बताए । कुलपति मुख्यमन्त्री नभई आमजनताबाट र उपकुलपति प्राज्ञिक क्षेत्रका व्यक्ति हुनु पर्ने उनको भनाइ थियो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन भएको डेढ भइसकेको छ । तर, प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति लगायत सुदूरपश्चिमको गरिमा बढाउने विषयमा खोज, अनुसन्धान गर्न सकेको छैन ।
प्राज्ञिक क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप भइरहेको र उपकुलपतिलाई उपसचिव स्तरमा राखिएका कारण प्रतिष्ठानले काम गर्न नसकेको प्रदेश सभा सदस्य शिवसिंह ओलीको भनाइ थियो । उपकुलपतिलाई गरिमा दिनु पर्ने भन्दै उनले भने,“कम्तीमा पनि राज्यमन्त्री सरहको सम्मान हुनु पर्दछ ।”
















