डडेल्धुरा- डडेल्धुराबाट नक्कली प्रमाणपत्र पेस गरेर सिम निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल टेलिकम डडेलधुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने बझाङको बित्थडचिर गाउँपालिका –१ भाराभिडका २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
बझाङको बित्थडचिर गाउँपालिकामा प्राविधिक सहायक (सिभिल इन्जिनियर)को करार कर्मचारी समेत रहेका बोहरालाई आइतबार डडेल्धुरा प्रहरीले सार्वजनिक गरेको हो । उनले माघ २३ गते बित्थडचिर९४ देउलेकका मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।
बागबजारको एउटा पसलमा पहिलो पटक पचास हजार र दोस्रो पटक बाईस हजार एक सय गरी जम्मा ७२ हजार एक सय ट्रान्सफर गरी ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ।
बाँकी रहेको दुई हजार एक सय नगद सहित उनलाई शनिवार प्रहरी चौकी बित्थडचिर बझाङले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई बुझाएको थियो । उनी विरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले बताए ।













