धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको स्कुटी घरमा लगेका छन् । सुपप्र ०१–००१ ब २०५९ नम्बरको स्कुटर श्रीमतीलाई दैनिक कामकाजमा प्रयोग गर्ने गरी नगरप्रमुख रावतले घर लगेका हुन् ।
मंगलबार बिहान छोरालाई विद्यालय पुगाइरहेको अवस्थामा भेटिएकी नगरप्रमुखकी श्रीमती यमुना रावतले आफ्नो सजिलोको लागि नगरप्रमुखले स्कुटी घरमा ल्याइदिएको बताइन् ।
यसअघि आइतबार पनि छोराको उपचारका लागि सो स्कुटी चलाएर रावत घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन् । नगरप्रमुख रावतकी श्रीमती बिमा अभिकर्ता समेत भएका कारण बिमा पोलिसी खोज्न समेत सोही स्कुटर प्रयोग गर्ने गरेको जनगुनासो छ । नगरपालिकामा कार्यरत महिला कर्मचारीलाई कामकाजमा सजिलो होस् भन्ने उद्देश्यले २०७८ चैत्र १७ गते नगरपालिकाले सो स्कुटर खरिद गरेको थियो ।
तर, केही महिना देखि नगरपालिकामा स्कुटर देखिन छोडेपछि, महिला कर्मचारीलाई कामकाजमा निकै समस्या भइरहेको थियो । स्कुटर नहुँदा नगरको स्वास्थ्य शाखा मार्फत दैनिक जसो वडामा गएर गर्नु पर्ने अल्ट्रासाउन्ड जस्ता कार्यहरू समेतमा कठिन भइरहेको नगरपालिकाकी एक कर्मचारीले गुनासो गरेकी छन् ।
हाल नगरप्रमुख रावतले नगरपालिकाको से १ झ ३३५ नम्बरको स्कोरपीयो गाडी प्रयोग गरिरहेका छन् । स्कुटरको दुरुपयोग भएको विषयमा नगरप्रमुख रावतले भने आफ्नो सजिलोको लागि स्कुटर घरमा लगेको बताएछन् ।
नगरप्रमुख रावतले यस भन्दा पहिले घरनजिक सजिलोका लागि भन्दै मोटरसाइकल लगेका थिए । तर, श्रीमतीले स्कुटर रहर गरेपछि नगरप्रमुखले मोटरसाइकल फिर्ता गरेर केही महिना पहिले स्कुटर घर लगेको स्थानीयको दाबी छ ।













