धनगढी- भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिक– ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझतिर जमीन मुनिबाट एक्कासी बिष्फोटक पदार्थ विष्फोट हुँदा चार जना घाइते भएका छन् ।
सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक बिष्फोट हुँदा अपरेटरसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, कञ्चनपुरका नवीनदेव अवस्थी र सुर्खेतका २२ वर्षीय हिरा थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
घाइते चार जना मध्ये जेसीवी अपरेटर डडेल्धुराको आलिताल गाँउपालिका–८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । विष्फोटक पदार्थ के हो भन्ने नाम भने नखुलेको प्रहरीले जनाएको छ । द्धन्दकालमा सो क्षेत्रमा तत्कालिन विद्रोही माओवादी र नेपाली सेनाबीच पटकपटक लडाइँ भएको थिए ।













