धनगढी- नेकपा एमाले कैलालीको नवौँ अधिवेशन सुखडमा जारी छ । सहमतिमा नेतृत्व चयन हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अघि बढेको छ । तर, निर्वाचन प्रकृया भने लम्बिदै गएको छ । आज १ बजेबाट मतदान सुरु हुने भनिएपनि मतदानको निर्धारित समयसम्म पनि उम्मेदवारको अन्तिम नावावलीसमेत प्रकाशित भएको छैन् ।
मतपत्र छपाइलगायतका काममा ढिलाइ भएका कारण मतदान सुरु हुन नसकेको जनाइएको छ । आज अधिवेशनको पाँचौ दिन हो । फागुन ६ गते अधिवेशनको उद्घाटन गरिएको थियो । लामो समयको बसाइले गर्दा सास्ती खेप्नु परेको मतदाको गुनासो छ । निर्वाचन लम्बिदै जाँदा बसाइ पनि खर्चिलो भएको मतदाताहरु बताउँछन् ।
हिजो (बुधवार) पनि मतदान हुने भनिएको थियो । हिजो पनि निर्वाचन हुन नसकेपछि आजलाई सारिएको थियो । अध्यक्षका लागि डेजी पाण्डे,दुर्गा जोशी र यज्ञराज ढुंगानाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समतिले जनाएको छ । त्यस्तै उपाध्यक्षका लागि गजेन्द्र स्वार,विष्णुबहादुर चौधरी, वीरेन्द्रबहादुर रावल,आनन्द भट्ट, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् । सचिवका लागि विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।
उपसचिवमा किशोर शाह, चक्र विष्ट,चुडामणी भट्ट,मदन रेग्मी, नृप खड्का,भुवन रिजाल र राजु गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा अम्बिका बिष्ट मल्ल,गीता चौधरी,गंगाकुमारी चौधरी,रत्नाकुमारी जोशी र शान्तिदेवी सिंह रहेका छन् । ५ सय ८८ जना मतदाता रहेको जनाइएको छ ।













