धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाईस्थित शैलेश्वरी इग्लिंस बोर्डिङ स्कुलको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । वार्षिकोत्सवको अवसरमा आफ्नै प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो । विद्यालयका संस्थापक अध्यक्ष नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख जोशीले विद्यालयलाई समय परिवेश अनुसार स्थापित गर्दै लग्न जरुरी रहेको बताए । उनले विद्यालयले विद्यार्थीहरूलाई संस्कारसहितको आधुनिक तथा वैज्ञानिक शिक्षा जोड दिनुपर्ने सुझाव दिए ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यार्थीका कला तथा नृत्य प्रस्तुत गर्नुका साथै वर्ष उत्कृष्ट विद्यार्थी र उत्कृष्ट हाउसलाई सम्मानित गरेको छ । विद्यालयमा कक्षा ९ मा पढ्दै आएकी रितु तिवारी उत्कृष्ट विद्यार्थीबाट र ब्लु हाउसलाई हाउस अफ दि इयरबाट सम्मानित गरिएको छ भने २०७९ मा कक्षामा उत्कृष्ट भएका, वार्षिकोत्सवको आयोजनामा भएका प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयको वार्षिक प्रतिवेदन प्राध्यापक जगन्नाथ जोराले प्रस्तुत गरेका थिए । विद्यालय २०६० सालमा स्थापना भएको थियो । हाल सो विद्यालयमा कक्षा ९ सम्म अध्यापन हुँदै आएकोमा नयाँ शैक्षिक सत्रदेखि कक्षा १० सम्म अध्यापनका लागि अनुमति लिइसकेको उनको भनाई छ ।
कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका धर्मदेव भट्ट, मयुर स्कुलका पदमबहादुर साउद लगायत विभिन्न विद्यालयका शिक्षक, राजनीतिक दल, समाजसेवी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
















