धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेशभर आधारभूत स्तरको खानेपानी सुविधाको पहुँच ८६.५३ प्रतिशत जनसंख्याको पहुँच पुगिसकेको बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको बासकोटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभा तथा आयोजना हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
दिगो भरपर्दो गुणस्तरीय खानेपानी तथा सरसफाई सुविधा सबै नागरिकलाई पुर्याउने प्रदेश सरकारको पञ्चवर्षीय योजनाको लक्ष्य रहेको उनले बताए । ०८०/०८१ को नीति तथा कार्यक्रममा सबैलाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम रहेको जानकारी गराउँदै मन्त्री देउवाले खानेपानी सेवाबाट वञ्चित तथा विपन्न बस्तीहरूमा खानेपानी आपूर्तिको विशेष व्यवस्था गरिने बताए ।
संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा तथा सहकार्यमा खानेपानी, सरसफाई तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, मध्यम तथा उच्चस्तरको खानेपानी सेवाको स्तरबृद्धि गर्न समुदायमा आधारित खानेपानी आयोजनालाई प्राथमिकता साथ अगाडि बढाई मन्त्री देउवाले बताए । सामुदायिक विद्यालय एवम् स्वास्थ्य संस्थालाई विशेष प्राथमिकता दिई यसै आर्थिक वर्ष भित्र गुणस्तरीय खाने पानीका लागि फिल्टर सहितको खानेपानी व्यवस्था भइरहेको समेत उनले बताए ।
उनले नगर विकास कोष र स्थानीयको सह–लगानीमा निर्माण भएका साना सहरी खानेपानी संस्थाले लगानीको सावाँ र व्याज भुक्तानी गर्नु, खानेपानी ओभर हेड टंकीबाट शुद्ध खानेपानी नागरिकको घर घर पुर्याउनु समिति जनशक्ति तथा श्रोत साधनहरूबाट सञ्चालन गर्नु, सडक निर्माण गर्दा खानेपानीसँग समन्वय नभई हुने क्षति मुख्य चुनौतीका रूपमा रहेको बताए ।
उनले यी समस्या समाधानका लागि तीन तहका सरकार मिलेर समाधान गर्नुपर्ने बताए । प्रदेश सरकार निर्माण भएदेखि विकासलाई देखिने र जनतालाई महसुस गर्ने गरी विकासका कार्यहरूलाई अगाडि बढाउने नीतिगत निर्णय गरी अगाडि आफू बढेको मन्त्री देउवाले बताए ।जनतालाई सुशासनको प्रत्याभूति दिलाउन र सेवा प्रभावलाई चुस्त दुरुस्त बनाउन आवश्यक कानुनी र नीतिगत सुधारमा सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाशबहादुर बम, तुलसी देवकोटा, खिमादेवी विष्ट, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, नगर उप–प्रमुख, मन्त्रालयका सचिवलगायतको सहभागी थियो ।













