टंक कुँवर
कैलाली- कैलालीमा रैथाने थारुआलुको माग बढ्न थालेको छ । बजारमा थारु समुदायमा लगाइने सो जातको आलुको माग बढ्न थालेको हो । सो जातको आलु बजारमा न्युनतम प्रतिकिलो ४० देखि ८० रुपैयामा बिक्री हुने गरेको कृषि ज्ञानकेन्द्र कैलालीले जनाएको छ ।
थारु आलु उत्पादन बढोत्तरी गर्न कृषि ज्ञान केन्द्रले ४२ हेक्टर जमिन क्षेत्रफलका लागि ७१ जना कृषिकलाई अनुदान समेत दिएको कृषि ज्ञानकेन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । ‘अनुदान दिएको क्षेत्रफलमा १ हजार मेट्रिकटन आलु उत्पादन हुने अनुमान छ ।’ उनले भने ‘हामीले फिल्ड अनुगमन गरी आलु उत्पादनका लागि आवश्यक पर्ने सामग्री पनि दिएका छौँ ।’
प्रति व्यक्ती १ लाखका दरले अनुदान दिएको उनले बताए । घोडाघोडी नगरपालिका–१ पहलवानपुरका कृषक जालुराम डगौरा थारुले आलु उत्पादन गरी वार्षिक ४ लाखको आम्दानी गर्ने गरेको छन । २२ कठ्ठामा आलुको बीउ र दानाआलु मात्र बार्षिक २ सय बोरा उत्पादन गर्ने गरेको बताए । ‘आलुको बजार भाउ राम्रै छ सबै परिवार आलु खेतीमा लागेका छौँ’,उनले भने ।
उनले थपे ‘यसपाली अनुदानका लागि कृषि ज्ञानकेन्द्रमा कागजजात पेस गरेका छौँ । उताबाट फिल्ड अनुगमन गरेपछि अनुदान पाउँछु होला ।’ कृषि ज्ञानकेन्द्रले रैथाने बाली लसुन,धनिया, अमिल लच्चाको उत्पादनमा बृद्धि गर्न कृषकँंग सुझाव माग गरिरहेको छ । पहाडी क्षेत्रमा लिबर्ड संस्थासँगै कृषि ज्ञान केन्द्रले रैथाने बाली कोदो,चिनो, कागुनो,फापर, सिमी र तराईमा पाईने चिचिन्डोलगाएतका बालीको संरक्षण गर्न काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख शर्माले बताए ।
‘यस्ता बालीलाई मेलामा प्रदर्शनीमा राख्ने,सामुदायिक बीड बैंकमा राखेर बचाउने काम गरिन्छ ।’ उनले भने ‘भोलि यी बाली अनुसन्धानका लागि पनि काम लाग्छन् ।’













