तेजराज भट्ट/ धनगढी- कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । ०६४ को बाढीले ताल पुरेर बगर बनाएपछि अतिक्रमणमा परेको ताललाई पुरानै स्वरूपमा फर्काउन नापी कार्यालय कैलालीको प्राविधिक टोली रेखांकनमा खटिएको हो । विगतमा ताल रहेको क्षेत्रमा हाल स्थानीयले गहुँ खेती गरेका छन्, बर्खामा धान रोप्छन् ।
डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा लालपुर्जा भएको व्यक्तिको जमिन र तालको क्षेत्र छुट्याउन सुरु गरिएको नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत जनकराज भट्टले जानकारी दिए । रेखांकनका लागि खटिएका नापी कार्यालयका अमिन अक्षय कठरियाले स्थानीय बासिन्दा, जनप्रतिनिधि, नगरपालिका र वन कार्यालयका कर्मचारीको समन्वयमा काम थालेको बताए ।
उनका अनुसार तालसँग जोडिएको व्यक्तिका लालपुर्जा भएको जमिन नापेर छुट्याएपछि तालको क्षेत्र छुट्याइनेछ । तालसँग जंगलसमेत जोडिएकाले व्यक्तिको जग्गा जोडिएको क्षेत्रमा नापजाँच गरिनेछ । भजनीका मेयर केवल चौधरीले ताललाई पुरानै स्वरूपमा फर्काउन नापीको टोलीले सीमांकन गरेको क्षेत्रमा माटो हटाउने काम वैशाखपछि सुरु गरिने बताए ।
‘वन कार्यालयसँग मिलेर ताललाई पुरानो स्वरूपमा फर्काउँछौँ, यो कामका लागि त्यहाँ भरिएको माटो बेचेरै स्रोत जुटाउन सकिने देखिएको छ,’ उनले भने, ‘ताललाई पुनर्जीवन दिन सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ ।’ हुलाकी राजमार्गनजिक भएकाले पहुँचका हिसाबले पनि सहज छ ।
भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार ०६४ को बर्खामा मोहना नदीको बाढी तालमा पसेपछि बालुवाले भरिएको थियो । ०७५ थप अर्को बाढीले पनि ताल पुर्यो । ताल पुरिएपछि स्थानीयले खेती लगाउन सुरु गरेका थिए । ‘ताल पुरिएको एक–दुई वर्षपछि स्थानीयले खेती लगाउन सुरु गरे । अहिले यहाँ तालको अस्तित्व नै छैन,’ उनले भने ।
स्थानीयका भनाइमा जंगलसँग जोडिएको यो ताल पाँच सय बिघामा फैलिएको थियो । तर, नक्सामा तालको क्षेत्रफल एक सय ४४ बिघा आठ कट्ठा १२ धुर उल्लेख रहेको नापी कार्यालयले जनाएको छ । तालको क्षेत्र नक्सामा भन्दा बढी रहेको वन कार्यालयको दाबी छ । नापीले भने व्यक्तिको लालपुर्जा भएको जमिन नापेर छुट्याएपछि तालको क्षेत्र यकिन हुने बताएको छ ।
वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ । स्थानीयका अनुसार पहिले सयौँ बिघा क्षेत्रमा फैलिएको यो ताल जलचर र विभिन्न प्रजातिका चराको वासस्थानका रूपमा थियो ।
वसन्ता जैविक मार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्छन् । वसन्तासँग जोडिएको यो तालमा वन्यजन्तु पानीका लागि आउने गर्थे । अतिक्रमण हटाएर ताललाई पुरानै स्वरूपमा फर्काउन सके जैविक विविधताको संरक्षणमा टेवा पुग्नेसँगै पर्या–पर्यटनको समेत विकास हुने वडाध्यक्ष कठरियाले बताए ।
















