धनगढी- सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमाले ८ जना मन्त्रीको टुङ्गो लगाएसँगै भण्डारी पनि मन्त्री बन्ने भएका हुन । तर मन्त्रालय भने तोकिएको छैन ।
भण्डारी बैतडीबाट प्रतिनिधि सभा सदस्य जितेका थिए । उनले काँग्रेस नेतृत्वको गठबन्धनका नरेन्द्र कुवरलाई पराजित गरेका हुन । भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए ।
उनी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए ।
भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष समेत हुन । २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।













