धनगढी- विद्यालयमा अनुगमन र सुपरीवेक्षण कमजोर बन्दै गएको शिक्षा तथा स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले बताएका छन् । अनुगमन गर्ने अधिकारी स्थानीय सरकारलाई दिए पनि प्रभावकारी बन्न नसकेको उनले बताए।
धनगढीमा बुधबार पत्रकार भेटघाट कार्यक्रममा जोशीले प्रस्तुत गरेको कार्यपत्रमा सुदूरपश्चिमका ८८ वटा स्थानीय तहहरु मध्ये ५२ वटा पालिकामा प्रविधिक विद्यालय भए पनि प्रभावकारी बन्न नसकेको उल्लेख गरे ।
विद्यालयहरुमा गणित, विज्ञान शिक्षकहरुको परिपूर्ति हुन नसकेको उनले बताए । देशभरी ३६ हजार ३२ वटा विद्यालय रहेका छन् । यस्तै ०७८/०७९मा १९ अरब ४५ करोड १० लाख रुपैया बेरुजु भएको जोशीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा पत्रकारहरुले शिक्षाको क्षेत्रमा विभिन्न प्रश्नहरु राखेका थिए । प्रश्नको उत्तर दिँदै निर्देशक जोशीले देशभर स्यानटरी प्याड गुणस्तर कम भएको गुनासो आएकोले त्यसका लागि स्थानीय सरकारले ख्याल गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
















