धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको छ । बेहडाबाबा मन्दिरमा आज (शुक्रवार) महाशिवरात्रिका दिन हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको हो ।
बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा पुष्प वर्षा गराइएको थियो । बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको हो।
महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
उनले जिल्लाको प्रसिद्ध धार्मिक स्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न पुष्प वर्षा गराइएको बताए । आज अपराह्न ४ बजे सवा दुई करोड दीप प्रज्वलन पनि गरिने जोशीले बताए ।
पुष्प वर्षाका लागि नरेन्द्र शाहको संयोजकत्वको टोलीले १४ लाख ९ हजार ९५० रकम सङ्कलन गरेको थियो । हेलिकोप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान गरिएको छ ।













