धनगढी- थारु रत्गैंया परिवार समाजको चौथो राष्ट्रिय गोत्यार सम्मेलन फागुन २८ गते (सोमबार) हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीमा हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
समाजले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष पृथ्वी रत्गैंयाले थारु जाति भित्रको रत्गैंया थरका बन्दु्,बंशको खोजीका लागि सम्मेलन आयोजना गरिएको बताए ।
उनले भने,‘दाङको रत्गाई भन्ने ठाउँबाट थारु जाति भित्रका रत्गैंया थरका भाइबन्दुहरु देशका विभिन्न जिल्लामा फैलिएर गएका छन् । उनीहरुको खोजी गर्ने रत्गैंयाले गर्ने पूजाआजामा एकरुपता ल्याउने,उनीहरुको आर्थिक अवस्था मजुवद बनाउने उदेश्यले सम्मेलनको आयोजना गर्दै आएका छाँै ।’
उनले भने ‘पहिचान नहुँदा रत्गैंयाको एकै गोत्रमा पनि विवाह हुने अवस्था भयो । त्यसैले यस्तो नहोस् भन्नका लागि थारु भित्रका रत्गैंया थरको पहिचान गर्न खोजेका हौँ । जसले गर्दा एउटै गोत्रमा विवाह गर्ने अवस्था नहोस,एकले अर्कालाई चिनुन् ।’ हाल दाङ,बर्दिया,बाँके,सुर्खेत,कैलाली,कञ्चनपुरमा रत्गैंयाहरुले बसोबास गर्दै आएको उनले बताए । हालसम्मको तथ्यांक अनुसार यी ५ जिल्लामा २ हजार १ सय ६५ रत्गैंया परिवार रहेको उनले बताए । सम्मेलनमा करिब ८ हजार जनाको उपस्थिति रहने उनले बताए । सम्मेलन सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रत्गैंयाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन रत्गैंया परिवार समाज कैलालीले गर्ने जनाइएको छ ।
















