काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएको बताएकी छन्। बुधबार प्रचण्डलाई आफ्ना चारैजना सांसदले विश्वासको मत दिएको बताइन्। मंगलबार श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाएकी थिएन।
तर, संरक्षक चौधरीले बहुमत केन्द्रीय सदस्यको हवाला दिएर सुदूरपश्चिम प्रदेशमा बरु संवाद गर्न सकिने भएपनि केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नुपर्ने लगायत दुईबुँदे निर्णय गरेका थिए।
श्रेष्ठ र चौधरीबीचको विवादले अन्योल बनेको थियो। बुधबार विहानै चौधरीले श्रीमती श्रेष्ठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए। तर, बुधबार दिउँसो प्रचण्डलाई विश्वासको मत दिने कुरामा चौधरी सहमत बनेको रञ्जिताले बताईन्।
‘हाम्रा पार्टीका चारै जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको भोट हाल्यौं,’ श्रेष्ठले भनिन, ‘प्रदेश सरकारमा समेत यही गठबन्धनबाट जाने समझदारी जुट्दैछ।’
उनले थपिन्, ‘रेशमजी सहमत भइसक्नुभयो। मैले भन्दा बढी उहाँले समर्थन गर्नुहुन्छ। अहिले प्रधानमन्त्रीले विश्वासको मत पाएको तस्बिर राखेर बधाई दिइसक्नुभएको छ।’













