धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुकको सिंगो समृद्धिमा सुनचाँदी व्यवसायीहरूको ठूलो योगदान रहेको बताएका छन् ।कैलालीको गोदावरीमा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
परापूर्व कालदेखि व्यवसाय नभएर पेसाका रूपमा हेरिँदै आएको व्यवसायले अहिले जीवन निर्वाह मात्रै नभई देशकै समृद्धिमा योगदान दिइरहेको बताए । विगतमा यो पेशा व्यवसायलाई अगाडि बढाउनेहरुप्रति कृतज्ञता जनाउँदै उनले पुर्वजहरुले हाम्रो संस्कृति र संस्कारलाई जोगाएको बताए । समय परिस्थितिले गर्दा यो व्यवसाय रुपातन्तरण भएर यसमा हरेक समुदायका मानिसहरू जोडिँदै गएको मुख्यमन्त्री शाहले बताए ।
यस्तै उनले मुलुक संघीयतामा गएको भएपनि प्रदेश सरकारसँग कुनै पनि अधिकार नहुँदा अझै संघीय सरकार सँगै अधिकार माग्नु पर्ने बाध्यता रहेको बताए ।
‘‘यो व्यवसायलाई कसरी मर्यादीत, सुरक्षित बनाउन सकिन्छ भन्ने सन्दर्भमा आफ्नो तहबाट गर्न सक्ने सहयोगका लागि आफू दत्तचित भएर लाग्ने छु,’ मुख्यमन्त्री शाहले भने ।
सुनचाँदी व्यवसायमा पनि थुप्रै समस्याहरु रहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले पनि इमानदार भएर अगाडि बढ्नुपर्ने बताए । ‘म प्रतिबद्धता जाहेर गर्छु कि तपाईँहरूको हरेको समस्यामा समाधान गर्नमा प्रतिबद्ध छु । व्यवसायीहरुले पनि इमान्दार हुनुपर्छ ।’













