धनगढी- नगरमा छाडा पशुचौपायाको संख्या बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले चौपायामा ‘ट्याग’ लगाउन थालेको छ । उपमहानगरका अनुसार अहिलेसम्म तीनवटा वडामा तीन हजार दुई सयवटा चौपायामा ‘ट्याग’ लगाइएको छ । त्यसमध्ये दुई हजार आठ सय घरपालुवा चौपाया रहेको उपमहानगरले जनाएको छ ।
घरपालुवा चौपायाको उपयोगपछि जथाभावी छाडिदिने प्रवृत्ति नियन्त्रण गर्न चौपायाको पहिचानका लागि ट्यागिङ गर्ने कार्य थालिएको उपमहानगरको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक डा. समीर ठाकुरले बताए ।
ट्यागिङ गरेर चौपायाको तथ्यांक राखेपछि पहिचान गर्न सकिने भएकाले उपयोगपछि चौपाया छाड्ने कार्य नियन्त्रण गर्न सकिने उनले बताए । धनगढीमा छाडा चौपायाका ठूलो समस्याका रूपमा रहेको छ ।
किसानलाई छाडा चौपायाबाट अन्नबाली जोगाउन मुस्किल हुने गरेको छ । छाडा चौपायाले खाएर नष्ट गर्दा किसानले अन्नबालीमा ठूलो क्षति व्यहोर्नुपरेको छ भने चौपायाका कारण सडक दुर्घटना समेत हुने गरेका छन् ।
गाईले दुध दिन छाडेपछि वा चौपाया बुढो, अशक्त भएर काम गर्न नसक्ने भएपछि सडक वा जंगलमा छोडिदिने प्रवृत्तिले कैलाली, कञ्चनपुरका अधिकांश पालिकामा छाडा चौपायाको समस्या बढ्दो छ ।













