धनगढी – सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सेती लोक मार्ग सुदूरपश्चिमकै रणनीतिक महत्वको राष्ट्रिय गौरवको आयोजना मात्र नभई लाइफलाइन रहेको बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रवारदेखि सुरु भएको छैटौँ बर्दगोरिया सेती लोक मार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले भने,‘पहाडी जिल्ला जोडने भिमदत्त राजमार्ग मात्रै छ कुनै कारणले राजमार्ग अवरुद्ध भएमा पहाडी जिल्लाको यातायात सम्पर्क विभेद हुन्छ । कैलाली डोटी, अछाम, बाजुरा र बझाङ ग्रामीण क्षेत्र तथा भारत र चिनको नाका सम्म जोडने यो सडक त्रिदेशीय व्यापार लगायत अन्य सामरिक दृष्टिकोणले समेत महत्त्व रहेको छ ।’
सुदूरपश्चिमबाट भारतको सिमाना जोडने र तराईको कैलाली देखि चीनको सिमाना जोडने सबै भन्दा छोटो दुरीको जम्मा ३५९ कि मि रहको यो सडक निर्माण भए पछि त्रिदेशीय व्यापार व्यवसाय र बझाङ, बाजुरा अछामका मानिसहरूले छोटो दुरीमा यात्रा गर्न पाउने उनले बताए । यो आयोजना सम्पन्न भएपछि पहाडी जिल्लाको जनजीवन आर्थिक हिसाबले चलायमान बनाउनुका साथै जीवनलाई सजिलो बनाउँदै पहाडी जिल्ला सँगको कनेक्टिभिटीमा समेत मदत पुर्याउन सकिने उनले बताए ।
पहाडी जिल्लाको उत्पादन सजिलै तराईका जिल्ला र तराईका कैलाली र कञ्चनपुरको उत्पादन सजिलै पहाडी जिल्ला लैजान मदत पुग्नेछ भने पहाडबाट भइरहेको अत्यधिक बसाइँ सराई समेत रोकन सकिने उनले दाबी गरे ।
मैले पनि पटक–पटक संघिय सरकारलाई सुदूरपश्चिममा राष्ट्रिय गौरवको आयोजना सेती लोक मार्ग, महाकाली कोरिडोर र धनगढी दिपायल द्रुत मार्ग निर्माण आयोजना चाँडो निर्माण गर्नका लागि र आवश्यक बजेट व्यवस्थापनका लागि अर्थमन्त्री, सडकको क्षेत्रा अधिकारमा पर्ने रुख कटानका लागि बनमन्त्री र पटक –पटक प्रधानमन्त्री सँगको भेटमा गभ्मिरता पूर्वक यी आयोजनाका बारेमा कुरा उठाएको उनले बताए ।
यी गौरवका आयोजना प्रदेश सरकार र स्थानीय सरकारको सामर्थ्यले निर्माण हुन नसक्ने भएकाले सेती लोक मार्ग लगायतका अन्य गौरवका आयोजनाको निर्माण कार्य तदरुक्ताका साथ अगाडि बढाउन सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट संघिय सरकार सँग पहल गर्ने मन्त्री देउवाले प्रतिबद्धता व्यक्तसमेत गरे ।
यस आयोजनाले द्रुत गति लिन नसक्नुको प्रमुख कारण प्रर्याप्त बजेट नहुनु, समयमा सडक आयोजनामा पर्ने रुख कटानीको अनुमति नपाउनु, नदीमा पुलको डिपिआर समयमा नबन्नु र स्थिर सरकार लगायत विश्व आर्थिक मन्दीको प्रभाव जस्ता कारण रहेको मन्त्री देउवाले बताए । अहिले यो आयोजनालाई दुई भागमा विभाजन गरी सेती लोक मार्ग टिकापुर देखि चैनपुर सम्म २४२ कि मि दक्षिण खण्ड र चैनपुर उरै भन्ज्याङ ११७ कि मि उत्तर खण्ड गरी दुई खण्डमा विभाजन गरी कार्य भइरहेको उनले बताए ।
‘अहिले राष्ट्रिय सत्ता राजनीतिमा केही परिवर्तन देखिएको छ, तर पनि हामी सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान नेतृत्वलाई कायम राखने तिर अगाडि बढी रहेका छौँ । हामी स्थिर सरकारका लागि प्रदेश सभामा रहेको राजनीतिक दल सँग निरन्तर संवादमा छौँ । हाम्रो सरकारले एक वर्षमा नीतिगत र कानुन सुधार र सुशासन र विकासलाई एउटा लयमा अगाडि बढाएका छौँ । जनताको असीमित आकाङ्क्षालाई सीमित स्रोतसाधन मार्फत पुरा गर्ने प्रयास गरेका छौ ।चाडै हामी सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई थप बलियो र स्थायित्व प्रदान गर्नेछौँ,’ मन्त्री देउवा ।
सुदूरपश्चिम सरकारको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, व्यापार व्यवसायको सबलीकरण र रोजगारी सिर्जना गर्ने रहेको मन्त्री देउवाले बताए ।
उनले भने,‘जनतालाई प्रदेश सरकार हाम्रो सरकार हो भन्ने विश्वास दिलाउने वातावरणका लागि सरकारबाट हुने सेवाप्रबाहालाई सहजता र विकासलाई देखिने र नागरिकले अनुभूति गर्ने गरी निर्माण गर्ने र भ्रष्टाचारलाई शून्य सहनशीलता नीति अवलम्बन गरी सुशासन कायम गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ मन्त्री देउवा ।













